Nepal National team Captain Bipendra calls it off

Posted: August 30, 2011 in National NEWS

जगदीश्वर पाण्डे/कान्तीपुर

विपेन्द्र महर्जनले सानामा बास्केटबलबारे सुनेका पनि थिएनन्, संयोग कस्तो भयो भने कालान्तरमा उनी नेपाली बास्केटबलकै सर्वाधिक सफल खेलाडी बने। उनले होस्टल बस्दाको समय पहिलोपल्ट साथीहरूले बास्केटबल खेलेको देखे।

त्यो क्षण र अहिले दुई दशकयता नेपाली बास्केटबलमा विपेन्द्र एक कालखण्ड भएका छन् । र, उनको अन्तर्राष्ट्रिय यात्रामा शुक्रबार पूर्णविराम लागेको छ।

खेलकुद भन्नेबित्तिकै हुरुक्क हुने असन कमलाक्षीका उनले कक्षा ४ देखि ७ सम्म फुटबल र टेबलटेनिसमै बिताए । संयोग कक्षा ८ मा पुग्दा ग्यालेक्सी पब्लिक स्कुलमा बास्केटबल कोर्ट बनेछ । ‘त्यो बेला टेबलटेनिसमा उपत्यका च्याम्पियन थिए । फुटबलको त अझ क्रेजी, बास्केटबलमा कुनै चासो थिएन,’ विपेन्द्रले बास्केटबल खेल्न सुरु गरेको विगत सम्झन थाले, ‘होस्टलमा बस्दा फुर्सद हुन्थ्यो । आँखाअघि नै कोर्ट भएकाले रमाइलोका लागि बास्केटबल पनि खेल्न थालियो ।’

दस वर्ष नेपाली टिमको नेतृत्व गरेका विपेन्द्रलाई अझै कीर्तिपुरमा खेलेको मैत्रीपूर्ण खेलको सम्झना ताजै छ । ‘कीर्तिपुरमा स्कुलको टिमले सहभागिता जनाउने भयो । म कप्तान थिएँ र प्रतियोगिताअघि एउटा टिमसँग अभ्यास खेल खेल्यौं । त्यसपछि थाहा भयो, हाम्रो स्तर,’ उनले हाँस्दै भने, ‘स्कुलमा त हामी निकै जान्ने थियौं । त्यो खेलमा एकपल्ट बल छुनसमेत गाह्रो पर्‍यो ।’ कक्षा १० मा हुँदा विपेन्द्रकै कप्तानीमा ग्यालेक्सीले पहिलो ज्ञान कार्निभलमा सहभागिता जनायो । प्रतियोगितामा ग्यालेक्सी दोस्रो हुँदा उनी भने सर्वाधिक स्कोर गर्ने खेलाडी बने । विस्तारै उनको बास्केटबल मोह बढ्दै गर्‍यो । अरू खेलाडीले बल डि्रब्लिङ, सुटिङ, पासिङ गरेको देख्दा विपेन्द्र निकै आकषिर्त भए । विपेन्द्रले विदेशी च्यानलमार्फत् अन्तर्राष्ट्रिय खेलसमेत हेर्न थाले । ‘टेलिभिजनमा बास्केटबलका स्टार सिकागो बुल्सका माइकल जोर्डनको खेल हेर्थें । जसले गर्दा मैले धेरै टेक्निक सिक्न पाएँ,’ उनले भने ।

सुरुआतको समय विपेन्द्रले घरबाट समस्या झेल्नु पर्‍यो । ‘खेलेर के हुन्छ । अब त काम गर्नु पर्‍यो,’ घरमा बारम्बार भनिरहने लाइन रहेको उनले बताए । एकपछि अर्को सफलता हात लागेपछि घरबाट सहयोग मिल्न थाल्यो । ‘बास्केटबल खेल्दा १५ वर्ष बितेको थाहा नै भएन,’उनले भने । सुरुमा खेल्दा पैसाको निकै समस्या परेको विपेन्द्रले बताए । ‘प्रतियोगितामा सहभागिता जनाउन सबैसँग पैसा उठाउथ्यौं । कोर्टमा लगाउने जुत्ता महँगो हुन्थ्यो’, उनले भने । त्यसबेला विपेन्द्रलाई भाग्यले साथ दिएछ । उनको टिमले लगातार प्रायोजकको साथ पाइरह्यो । ‘खेलेका सबै प्रतियोगितामा पहिलो वा दोस्रोमात्र हुन्थ्यौं । त्यसैले प्रायोजक पनि हामीप्रति आकषिर्त हुन्थे,’ उनले भने । विपेन्द्रले अहिलेसम्म भएका १० राष्ट्रिय प्रतियोगितामा पाँच फरक टिमबाट खेलेका छन् ।

उनकै नेतृत्वमा सातपल्ट टिम राष्ट्रिय च्याम्पियन बन्यो । विपेन्द्रले अस्कल र एस क्याम्पसलाई एक/एक, ह्वाइटहाउसलाई दुई र गोल्डनगेटलाई तीनपल्ट च्याम्पियन बनाए । छरिता खेलाडी विपेन्द्रको ‘पासिङ,’ ‘डि्रबलिङ’ र ‘सुटिङ’ निकै राम्रो छ । कोर्टमा उनलाई रोक्न विपक्षी टिमलाई हम्मेहम्मे पर्छ ।

विपेन्द्रले सन् २००१ देखि नेपाली टिमको नेतृत्व गरे । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले सिनियर स्तरमा अहिलेसम्म पाँच प्रतियोगितामा सहभागिता जनाएको छ । विपेन्द्रको नेतृत्वमा अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा राम्रो नजिता २००१ मा गुवाहाटी र २०११ मा दिल्लीमा आएको थियो । दुवैपल्ट मिड एसियाली जोन छनोटमा नेपाल तेस्रो भएको छ । विपेन्द्रले संन्यासका कारण केही नभई युवा खेलाडीलाई मौका दिनु रहेको बताए । ‘नयाँपिंढीलाई पनि अवसर दिनुपर्छ । अब केही वर्ष राष्ट्रियस्तरमा मात्र खेल्छु’, ३३ वषर्ीय प्वाइन्ट गार्डले भने । विपेन्द्रले बास्केटबलबाट धेरै पाए पनि एउटा कुराले सधैं सताइरहेको बताए । अन्तर्राष्ट्रिय अनुभव बढी बटुल्न पाएको भए नेपाली बास्केटबलको स्तर अझ वृद्धि हुने उनको भनाइ थियो ।

‘१० वर्षमा पाँचपल्ट मात्र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने मौका पाइयो । फुटबल र क्रिकेटको जस्तो धेरै खेल्ने अवसर पाएको भए अझ राम्रो गरिन्थ्यो कि ?’, विपेन्द्रले प्रतिप्रश्न गरे । तर बास्केटबलमा लागेर उनी पटक्कै चिन्तित छैनन् । विपेन्द्र बास्केटबलका अनुशासित खेलाडी हुन् । ‘खेलाडीमा अनुशासन चाहिन्छ । त्यसपछि मात्र खेल,’ उनले भने । फुटबल खेलाडी जस्तै चर्चामा नआउँदा र खेलेर बढी पैसा कमाउन नपाउँदा विपेन्द्रको मनमा खिन्नता छैन । ‘कम चर्चा भयो होला, खेल्दा कम पैसा कमाइयो तर अहिले प्रशिक्षणबाट मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाउँछु’, काठमाडौंका विभिन्न स्कुलमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहेका विपेन्द्रले भने ।

पछिल्लो समय नेपालमा बास्केटबलको क्रेज निकै बढेको छ । युवाहरू यो खेलमा निकै आकषिर्त छन् । ‘बास्केटबलमा लागेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकेकामा खुसी छु । यसैबाट नाम, दाम र सबै पाएँ,’, खुसी हुँदै विपेन्द्रले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s